काठमाडौँ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् । जानको शनिबार भएको अधिवेशनले लगातार चौथो कार्यकालको लागि डा भुसाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषि विज्ञ डा भुसाल सार्क जाइका अलमनाइहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिव समेत हुन् ।
यस्तै, अधिवेशनले जानको सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू समेत निर्विरोध निर्वाचित गरेको छ । जानको उपाध्यक्षमा डा किरण रुपाखेती, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह–कोषाध्यक्षमा बावुल खनाल निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा सुशीलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल, उमा श्रेष्ठ र तारा खनाल निर्वाचित भएको जानले जनाएको छ ।
डा. किरण रुपाखेती, यमलाल भुसाल र विनोदकुमार भट्टराई नेपाल सरकारका वर्तमान सहसचिव र सूर्यप्रसाद बराल उपसचिव हुन् ।
त्यस्तै, शान्तिलक्ष्मी शाक्य विद्युत् प्राधिकरणकी पूर्व उपकार्यकारी निर्देशक, पारस पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका वर्तमान निर्देशक सुशीलकुमार भट्टचन जाइका नेपालका पूर्वप्रमुख सल्लाहकार र अन्य पदाधिकारी, सदस्यहरू समेत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुने गरेको छ ।
जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सिपमूलकको विकासमा लगाउने उद्देश्यका साथ स्थापना भएको जनाइएको छ ।
यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार, जापान नेपाल सोसाइटी र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको छ । जानले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै जापान सरकारले गत साल जानलाई जापानको फरियन मिनिष्टर कमेन्डेसन अवार्ड समेत प्रदान गरेको थियो ।

