काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर आज (शुक्रबार) स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।
नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले सुनाइन् । ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुने जस्तो आशय मैले देखिनँ ।’
उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको बताइन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको उनको भनाइ छ । ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो । र मैले भेटेको पनि हुँ । मोदीजीसँग भेट मागिएको पनि होइन । भेट पनि भएन,’ राणाले भनिन् ।
‘नेपाली फिर्ता गर्न युक्रेन तयार’
रुसी फौजमा भर्ना भएर युक्रेनसँग युद्धमा पुगेका सात नेपाली युद्ध बन्दीहरु रिहाई गर्न युक्रेन तयार भएको परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले आफूले युक्रेनी समकक्षी एद्री सिबिहासँगको कुराकानीमा यस्तो भएको राणाले बताइन् ।
जर्मनीस्थित नेपाली राजदूतलाई युक्रेन हेर्ने अख्तियारी दिएपछि त्यस्तो प्रकृया सुरु गर्ने युक्रेनी समकक्षीले बताएको राणाले बताइन् । सन् २०२२ फेब्रुअरीबाट सुरु भएको रुसको युक्रेन हमलापछि रुसी फौजमा भर्ना भएका विदेशीहरुमा नेपालीहरु पनि थिए । युक्रेनविरुद्ध लड्ने क्रममा सात नेपालीहरु युक्रेनी सैनिकले पक्राउ गरेर युद्धबन्दी बनाएको थियो।