खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि दुई करोडभन्दा बढी लगानी गएिको थियो।
बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेका हुन्।
परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ। प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो।
यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए।
त्यसविपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ। यसले स्थानीयको खुसी धेरै टिक्न सकेन।
यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल ९खेल्ने ठाउँ० थियो। हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्ने गर्दछ।
समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी ९इन्द्रेणीपोखरी०को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ।
इन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ।
राज्यकोषको २० लाख रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो।
फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो।
पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख गाउँपालिकाको रु एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ।
प्राकृतिक संचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे।