काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।
