काठमाडौँ । किसानले लगाएको बालीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत उपलब्ध गराइने भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत रूपमा छुट्टयाएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तुको आक्रमणबाट पशुधन तथा कृषि बालीको क्षतिको राहत सरकारले उपलब्ध गराउने बताएका हुन् ।
‘वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, पशुधन तथा कृषि बालीको क्षतिको राहत दिइने छ । त्यसका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ,’ मन्त्री शाहीले संसद् बैठकमा भने । जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिएको मन्त्री शाहीले बताए । बाँदर नियन्त्रणका वैकल्पिक उपायबारे अध्ययन गरिने समेत उनको भनाइ छ ।
वन्यजन्तुको आक्रमण कम गर्नका लागि मन्त्रालयले वन्यजन्तुको वासस्थान सुधार, सोलार फेन्सिङ र विद्युतीय तारबार जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको पनि मन्त्री शाहीले बताए । बाँदर र बँदेलको आक्रमण समस्या समाधानका लागि अन्य मन्त्रालय, प्रदेश, स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहने भन्दै मन्त्रालय सहकार्यका लागि तयार रहेको समेत उनले बताए ।
