काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको १ करोड बजेट अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्य समितिको बैठकले सरकारले दिएको अनुदान चार वटा कारण देखाएर स्वीकार गरेको हो ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा ’सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी हुन आएको छ’ सेजनले भनेको छ, ‘नेपालका आर्थिक पत्रकारहरुको यस छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति नेपाल सरकार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हामी धन्यवाद दिन्छौं ।’
सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जनाएको छ ।

