काठमाडौं । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको शुक्रबारको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पारे ।
‘नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार आवश्यक छ । यसबाट पर्न सक्ने असर कम गर्न नीतिगत व्यवस्था गरिएको हो । यसबाट सुनको कारोबार पादरर्शी हुनेछ, कारोबारलाई करको दायरामा ल्याउँछ, अवैध कारोबार अन्त्य हुन्छ’, उनले भने ।
राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले विनियोजन, राजस्व अनुमान, अन्तर्राष्ट्रिय सहयोग, आन्तरिक ऋणलगायत आधारमा आगामी आवको बजेट उत्कृष्ट साबित भएको जिकिर गरे । उनले आन्तरिक ऋण उत्पादन र उत्पादकत्व वृद्धि तथा पुँजीगत खर्चका निम्ति परिचालित हुने विश्वास दिलाए ।
सभाले ती विधेयकका सम्बन्धमा सांसदहरूले राखेका सुझाव बहुमतले अस्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्नेछ । रासस
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित
By सूचनापाना
