रामेछाप । ‘पहिले हामीलाई बाहिरको सहयोग कुर्नु पथ्र्यो, अब भने हामी आफैँ समस्याको समाधान खोज्छौं,’ मन्थली नगरपालिका–८ चिसापानीकी रुद्रमाया सारुमगर भन्छिन् । उनीजस्तै यहाँका सयौँ महिलाहरू आजकल बाख्रा र भैँसी पालन, टनेलमा गोलभेँडा खेती जस्ता पेसामा लागेका छन्। उनीहरू अब निर्भर होइनन्, आत्मनिर्भर छन्।
चिसापानी र पुरानागाउँका महिलाहरूले स्वावलम्बी महिला समूहमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । दुई वडामा हाल ९ वटा समूह सक्रिय छन्, जसमा प्रत्येक समूहमा २० देखि ३० जना महिलाहरू आबद्ध छन् । कृषि र पशुपालनलाई आधुनिक दृष्टिकोणबाट अघि बढाउने उनीहरूको प्रयास, स्थानीय सरकार र सहकारी संस्थाको साथले झनै टेवा पाएको छ।
स्वावलम्बी महिला समूहको बैठक नियमित हुन्छ । त्यही बैठकमा महिलाहरू आफ्ना समस्या राख्छन्, छलफल गर्छन्, र समाधान खोज्छन् । चाहे त्यो बाख्राको खोर निर्माणको विषय होस् या टनेलमा रोग लागेका तरकारीहरूको समस्या, सबै कुरा समूहकै छलफलबाट अघि बढ्छ ।
रुद्रमाया बताउँछिन्, ‘हामीले समूह बनाएपछि मात्रै बाख्राको खोर बनाउन सक्यौं, नगरपालिकाले पनि बजेट दिन सजिलो भयो।’ अहिले समूहका सदस्यहरूमा दुई जनाले आधुनिक खोर निर्माण गरिसकेका छन्।
समूहमार्फत १३ लाख रुपैयाँ लगानीमा दुग्ध तथा तरकारी सङ्कलन केन्द्र समेत स्थापना गरिएको छ। ८ लाख रुपैयाँ मन्थली नगरपालिकाबाट र ५ लाख चिसापानी कृषि सहकारीबाट जुटाइएको हो।
पुरानागाउँ–९ थानापति स्वावलम्बी महिला समूहकी युगमाया श्रेष्ठले समूहको महत्व उल्लेख गर्दै भन्छिन्, ‘हामीले तालिम पायौं, उन्नत जातका बाख्रा र ब्याडका बोका पनि पायौं। अब हामी उन्नत जातका पशु र प्रविधिमा सजग छौँ ।’
हेफर प्रोजेक्ट नेपालले पहाडी समाज कल्याण केन्द्रको समन्वयमा यो अभियानलाई सजिलो बनाएको छ । हेफर प्रोजेक्ट नेपालकी सामुदायिक सहजकर्ता सम्झना श्रेष्ठका अनुसार वडा नं ८ का ५ समूहमा १३२ जना र वडा नं ९ का ४ समूहमा १०१ जना महिला आबद्ध छन्। यी समूहलाई पशुपालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको छ। भैँसीको थलो सुधारका लागि ३० स्थानमा सहयोग गरिएको छ भने बाख्राको खोर निर्माणमा २५–२५ हजार रुपैयाँ बराबरको अनुदान दिइएको छ।
संस्थाका अध्यक्ष रत्नप्रसाद कँडेलका अनुसार मन्थली नगरपालिकाका सबै १४ वटै वडामा हालसम्म ५० भन्दा बढी स्वावलम्बी महिला समूह गठन भइसकेका छन्। ‘एक हजारभन्दा बढी महिला सदस्य अहिले प्रत्यक्ष रूपमा कृषि, पशुपालन र लघु उद्यममार्फत आत्मनिर्भर बन्न थालेका छन्,’ कँडेल भन्छन्।
महिलाहरूको सामूहिक प्रयासले गाउँमा स्वरोजगारको संस्कृति जन्माएको छ। अब गाउँका महिलाहरू घरको चुल्हो–चौको मात्रै होइन, आफ्नो आर्थिक भविष्यको बागडोर पनि आफ्नै हातमा लिन थालेका छन्। उनीहरूले देखाएको यो सामूहिक साहस र सक्रियताको यात्राले, गाउँको मुहार फेर्न थालेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्वरोजगारतर्फको यात्रामा महिला समूहको सामूहिक पाइला
By सूचनापाना
