रुपन्देही । बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको रिसमा छोाराले बुवाको हत्या गरेका छन् ।
बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको बताइन् ।
भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिकाको वडा नं २ का अध्यक्ष राजु रुचालले बताए । स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।
