काठमाडौं । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २०० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
प्राधिकरणका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ भने सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ ।
पुल चर्केका कारण आवतजावत समेत बन्द रहेको छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभएपनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति भएको छैन ।
प्राधिरकणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण भने आएको छैन । तर, भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।
त्यस्तै, चिलिमेको पावरहाउसमा पनि बाढी पसेको छ । तर, क्षति भने भएको छैन । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको शाक्यले बताए । यी आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको हो ।
