रोल्पा । तीन दिनदेखि सम्पर्कविहीन रहेका थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् ।
उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् । उनीहरु सबै सकुसल रहेको थबाङ फर्कँदै गरेको जानकारी गराएको अध्यक्ष बुढामगरले बताए ।
थबाङ गाउँपालिकाका यी कर्मचारी यही असार २४ गते रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए ।
थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।
