काठमाडौँ । रसुवा बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याईने भएको छ।
धादिङ चालक संघले बुधबार दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।
संघका अध्यक्ष नारायण पन्तले गृहमन्त्री लेखकलाई रसुवा बाढीका कारण चिनियाँ भूमिमा केही दिनदेखि चालकहरु अड्किएको र घर फर्किन नसकेको बताएका थिए। यसले उनीहरुको परिवार चिन्तित रहेकोले तत्काल उद्धार पहल गर्न आग्रह गरेका थिए।
गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ। अध्यक्ष पन्तका अनुसार गृहमन्त्री लेखकलाई चिनियाँ भूमिमा अलपत्र १३५ जनाको नामसूची दिइएको छ।
यही असार २४ गते आएको बाढीले रसुवामा व्यापक धनजनको क्षति पुगेको थियो ।
