काठमाडौँ । धरानस्थित भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै चोरी र आगजनीका लागि भित्र पसेका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेको हुनसक्ने उनले बताए।
उनका अनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो। शव खरानी बनेको अवस्थामा रहेकाले पहिचान खुल्न बाँकी छ।
यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको शव भेटिएको थियो। प्रहरीले थप खोजी गर्दा शुक्रबार दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। आगजनी तथा लुटपाट गर्नेलाई प्रहरीले निगरानीसमेत बढाएको छ। यसैगरी लुटपाटमा संलग्न को हुन् भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको बताइएको छ।
