काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ कर्मचारीसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीसहित तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभाइजर ३६ वर्षीय ताराकान्त चौधरी पक्राउ परेका हुन् । उनीहरु सुनगाभा कम्पनीका कर्मचारी हुन् ।
पक्राउ पर्ने अन्यमा २८ वर्षीय राजेश राई र ४१ वर्षीय हेमबहादुर थापा छन् । विमानस्थल प्रहरीका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठका अनुसार बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानको शौचालयभित्र फोहोरसँगै रहेको सुनका विस्कुटहरु भीमकुमारले बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा सुमनसँग मिलेर बाँडेका थिए ।
उनीहरुले आ–आफ्नो पर्सभित्र लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा भीमकुमारले बोकेको पर्सभित्र टेपले बेरिएको १० वटा सुनको बिस्कुट फेला परेको थियो । जसको तौल १ किलो १६६ ग्राम (अन्दाजी मूल्य रु.९७,९६,७३२) रहेको छ ।
सुमनले बोकेको पर्सबाट भीमकुमारको जति सुन बरामद भएको थियो । उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।