काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ । स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन् ।
सुरक्षाकर्मीहरूको टोली घटनास्थलतर्फ गईरहेका छन् । आइतबार बिहान पोखराबाट जोमसोमतर्फ गएको विमान उडेका केही मिनेटपछि सम्पर्क विहिन भएको थियो ।
आइतबार दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरूको टोली विमान खोजीमा परिचालन गरिएको थियो ।
विमानमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने तीन जना चालक दलसहित २२ जना रहेका थिए । विमानको क्याप्टेन प्रभाकर घिमिरे हुनुहुन्थ्यो भने को–पाइलट उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिए ।