काठमाडौं । नेपाली सेनाको ६ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पोखराको विजयस्थित श्री मध्य कमान्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा पत्रकारहरूलाई समाचार सम्प्रेषण गर्न सहज होस् भनेर सेनाको सांगठनिक स्वरूप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइने छ ।
यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरूलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।