काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले प्रत्येक वर्ष दोहोरिने मलको हाहाकार हटाउन सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने बताएकाछन ।
वर्षैपिच्छे मलको अभाव हुँदा किसान मारमा परेको समेत उनले बताए । सरकारले मलको समस्या समाधान गर्न नसकेको प्रति उनको दुखेसो छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएको दाबी गरे। थापाले यो वर्ष किसानले आवश्यक पर्ने मल नपाउने निश्चित भएको पनि बताए।
जेठ र असारमा २ देखि ३ लाख मेट्रिक टन मल चाहिनेमा कृषि मन्त्रालयले वक्तव्य निकालेर असारसम्म १ लाख ९२ हजार मेट्रिक टन आउने भनेको स्मरण गरे ।
संसदमा थापाले भने , ‘सभामुख महोदय, आउँदैन, आउन सक्दै सक्दैन । अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । ६०–७० हजार मेट्रिक टन आउँछ भनिएको छ । २० हजार बाटोमा छ । दिनको २ हजार मेट्रिक टनभन्दा बढी आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको साल पनि मनसुन राम्रो भयो मलको कारणले गर्दा हामीलाई ठूलो घाटा भयो ।’