काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘दारु शिविर’ गर्न सरकारलाई सुझाव दिएका छन । उनले भने- ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राखिएको छ । त्यसलाई बजेट छुट्टाइएको छ । बरु दारु शिविर राखेको भएपनि हुन्थ्यो । स्वास्थ्यको शिविर भएपनि हुन्थ्यो’, उनले भने ।
बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बाँस्कोटाले सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक भएको बताए ।
अर्थ मन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै ‘कोल्याप्स’ गरेको भन्दै बाँस्कोटाले सञ्चार मन्त्रालयको बजेटमा चरम दुरुपयोगको सम्भावना रहेको बताए ।
सञ्चार मन्त्रालयले आवश्यकता अनुसार खर्च गर्ने शीर्षकमा ५ करोड छुट्टाइएको भन्दै बाँस्कोटाले नीति तथा कार्यक्रममार्फत नै ‘दुरुपयोग’ संस्थागत गरिएको बताए । सञ्चार मन्त्रालयको बजेट विनियोजन सञ्चार मन्त्रीले नबनाएको दाबी गर्दै बाँस्कोटाले विनियोजनका प्रत्येक बुँदामा झुटको पुलिन्दा रहेको बताए ।