पर्वत । कास्कीको पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारले बिहानी सेवा स्थगित गरेको छ।
सूर्योदय हेर्न जाने यात्रुका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको बिहानी सेवा वर्षाका कारण प्रभावित भएको हो।
मनसुन सुरु भएसँगै लाग्ने बादलका कारण सूर्योदयको दृश्यावलोकन गर्न कठिन हुने र केबलकार सञ्चालनमा पनि समस्या हुने भन्दै सेवा एक महिनाका लागि स्थगन गरिएको हो।
बिहान ९ बजेपछि केबलकार नियमित सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ। केबलकार गत वर्ष चैत १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो। यसको बटम स्टेसन समुद्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन एक हजार ५२३ मिटर उचाइमा छ।