काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली काँग्रेसको आलोचना भएको बताएकी छन् ।
संसदमा नेकपा एमालेले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन् ।
किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै उनले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र काँग्रेसकै बेइज्जत भएको बताइन् ।
रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भनिन्, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईँहरू जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन । बेइज्जत त हाम्रै काँग्रेसको हुन्छ नि नेतृत्व हाम्रो छ ।’