काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क बिहीन भएका छन् ।
सम्पर्क बिहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यहि जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका दुवै जना पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । भारतीय नागरिक सम्पर्क बिहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
पथप्रदर्शक विना खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि खुम्बुक्षेत्रका लुक्ला, नाम्चे र खुम्जुङस्थित सबै प्रहरी इकाईलाई सक्रिय बनाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।