काठमाडौँ । देशभरका र्याफ्टिङ व्यवसायीहरुको संस्था नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का पदाधिकारीहरुले त्रीशुली नदीलाई हेरिटेज रिभर घोषणा गर्न माग गरेका छन् ।
मंगलबार नाराका नवनिर्वाचित पदाधिकारहरुले सत्तारुढ दलका शिर्ष नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी त्रीशुली नदीलाई हेरिटेज रिभर सम्पदा नदीको रुपमा सरकारले घोषणा गर्नु पर्ने माग गरेका हुन् ।
र्याफ्टिङका लागि प्रशिद्ध त्रीशुली नदी धार्मिक दृष्टीकोणबाट पनि एतिशासिक रहेकाले यस नदीलाई राज्यले सम्पदाकै रुपमा ग्रहण गरि विकासको योजना अघि बढाउनु पर्ने माग गरेका हुन् ।
उनीहरुले कर्णालीलाई स्वतन्त्र छाड्न जरुरी रहेको बताएका छन् । र्याफ्टिङका लागि कर्णालीमा थुप्रै सम्भावना रहेकाले स्वतन्त्र गरिनु पर्ने माग गरेका हुन् । यस्तै भोटेकोशी र्याफ्टिङका लागि विश्व प्रशिद्ध नदी भएकाले सुकुटे करिडोरलाई पर्यटकीय क्षेत्र घोषणा गरेर बजेट विनियोजन गर्न आग्रह गरिएको नाराका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।
नाराका अध्यक्ष शिव अधिकारीसहित नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्न अध्यक्ष प्रचण्डले खुमलटारस्थित निजि निवासमै आमन्त्रण गरेका थिए । सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले पर्यटन प्रवद्र्धनमा र्याफ्टिङ क्षेत्रले पुर्याएको योगदानको कदर गर्दै आफूले बजेट विनियोजन तथा प्राथमिकताका लागि गम्भीरता पूर्वक प्रधानमन्त्री सहित मन्त्रीहरुसंग कुरा गर्ने बताए ।