काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिएका हुन्।
उनले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुख भएकाले कार्यालय प्रमुखलाई नै आयोगले कारवाही अगाडी बढाउने गरेको स्पष्टीकरण दिए ।
कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनः नियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उनले सुनाए ।
सूचनाको हकका विज्ञ अभियन्ता एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले सूचना नमागेसम्म सूचनाको हकको अभियान अगाडी बढ्न नसक्ने भन्दै सूचना माग्न सबैलाई आग्रह गरे ।