काठमाडौं । आगामी कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने भएको छ ।
काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वागमती नदीमा पठाउने तयारी भइरहेको छ ।
समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ ।
साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ ।
सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो ।
