सप्तरी । संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ वर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै थुनामुक्त भइसकेकी छन् ।
६ जेठ २०७० को राति सभासद् हक सुतेको तत्कालीन कल्याणपुर गाविस २ स्थित आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।
५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदालाई २३ जेठ र नुरजहाँलाई २४ जेठ २०७० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।
२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले दुबैलाई जन्मकैदको फैसला गरेको थियो । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको थियो ।
अदालतले जन्मकैदको फैसला गरे पनि रुबेदा ९ वर्षमै रिहा भएकी छन् । संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएका आममाफी पाउनेमध्येका रुबेदा पनि परेकी हुन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।
