काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।
बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो । महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की घरहरुको बीचबाट नै टुकुचा उत्खनन गरेको छ । यस्तै ७ वटा साना टहराहरु भत्काएको लम्सालले बताए ।
लम्सालले भने-‘आज हामीले छोपिएको टुकुचाको अधिकांश स्थानमा उत्खनन गरेका छौं । अब बढीमा ७० देखि १ सय मिटर क्षेत्रको बाँकी होला । यसमा पनि हामीले अदालतले अन्तरकालीन आदेश दिएको ३ वटा घर छोएका छैनौं । छोपिएको भागको अन्तिम विन्दुमा उत्खनन गर्न केही गाह्रो भएकोले आज भ्याएनौं, भोलि हटाउँछौं।’
महानगरपालिकाले आइतबारसम्म छोपिएका करिब ५०० मिटरमध्ये ४ सय मिटर खाली गरिसकेको छ ।
