काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका लागि बालुवाटार पुगेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि उमेदवारी दर्ता गर्न तीन दिन मात्र समय बाँकी रहँदा राजनीतिक सरगर्मी बढेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेपछि दलहरुबीच राष्ट्रपति बनाउन दौडधुप बढिरहेको हो ।
दाहाल–ओलीबीच अहिले दाहालको सरकारी निवास बालुवटारमा संवाद भइरहेको छ । उनीहरुबीच राष्ट्रपतिमा कसलाई उमेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
नेकपा एमाले पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडानमा छ । माओवादी भने राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने पक्षमा छ ।
