काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा चुनाव नहुने भएको छ । फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्न रास्वपाले उक्त पद सिर्जना गरेको थियो ।
त्यति बेला विधानमा वरिष्ठ नेता पद थिएन । तर, पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो । यसलाई महाधिवेशनले पारित गर्न भने बाँकी छ । वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने रास्वपाले निर्णय गरेको छ । तर, यो पदमा चुनाव भने नहुने पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिए ।
उनका अनुसार वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन । चितवनको भतरपुरमा आजबाट सुरू हुने प्रथम महाधिवेशनमा अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ नेताबाहेक केन्द्रीय समितिका सदस्य र पदाधिकारीहरूका लागि निर्वाचन हुने देखिएको छ ।
महाधिवेशनको उद्घाटन सत्र सकिएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ । रास्वपाको विधान अनुसार निर्वाचन दुई चरणमा हुनेछ । पहिलो चरणमा सभापति र केन्द्रीय समितिका सदस्यहरूको चुनाव हुनेछ । सभापति निकट प्रतिद्वन्द्वीले पनि १० प्रतिशतभन्दा बढी मत ल्याए स्वतः केन्द्रीय सदस्य हुने छन् ।
दोस्रो चरणमा केन्द्रीय सदस्यका विजेतामध्येबाट पदाधिकारीका लागि चुनाव हुनेछ । विधान संशोधनपछि रास्वपाको केन्द्रीय समितिको आकार १५८ सदस्य र पदाधिकारी संख्या १९ सदस्य पुगेको छ । पदाधिकारीमध्ये वरिष्ठ नेता मात्र यस्तो पद हो, जसका लागि चुनाव हुने छैन ।
