काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि टुंगो भने लाग्न सकेन । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी थिए ।
नेकपा एकीकृत समाजवादीले आइतबार आफ्ना पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सिफारिस गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार आज पुनर्गठनको सम्भावना कम छ । गठबन्धनका अन्य सदस्यहरूले समय माग गरेकाले मन्त्रिपरिषद् पुनर्गठनमा समय लाग्ने भएको हो ।