काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन्।
बिहीबार बिहान हात्तीवनमा प्रचण्ड र नारायणकाजीसँग अध्यक्ष भट्टराईले भेटेको उनीनिकट नेता विश्वदीप पाण्डेले बताए।
उनले भने, ‘पार्टी दर्तापछि उहाँले शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम छ। त्यहीअनुसार अस्ति प्रधानमन्त्रीलाई भेट्नुभएको थियो। आज प्रचण्डजीलाई भेट्नुभएको हो।’ भेटवार्ताको क्रममा चुनावी तालमेल र गठबन्धनबारे छलफल भएको उनले बताए।
गठबन्धन र तालमेलबारे प्रचण्डसँगको भेटवार्ता सकारात्मक भएकाले त्यसलाई निरन्तरता दिने नेता पाण्डेले बताए। बाबुरामलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रले चासो राखिरहेको छ। भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन्।
जसपाबाट विभाजित भएर नयाँ दल दर्ता गरेपछि बाबुरामले आफ्नै पार्टी दर्ता गरेका छन्। उनले सत्ता गठबन्धनको स्वभाविक हकदार भएकाले आफ्नो पार्टीलाई पनि गठबन्धनमै सामेल गराउनुपर्ने बताउँदै आइरहेका छन्।
