Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछापका पालिका हाँक्नेहरू, कसले कहाँ- कहाँ जिते ?

    रामेछापका पालिका हाँक्नेहरू, कसले कहाँ- कहाँ जिते ?

    By सूचनापाना१० जेष्ठ २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी नेपाली काँग्रेस बनेको छ भने दोस्रो ठूलो पार्टी नेकपा एमाले बनेको छ । जिल्लामा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्ये नेपाली काँग्रेसले रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै गरी लिखुतामाकोशी गाउँपालिकामा प्रमुख, उमाकुण्ड गाउँपालिका र सुनापती गाउँपालिकामा उपप्रमुखमा जित हात पारेको छ भने जिल्लामा रहेको ६४ वडा मध्ये २४ वटा वडामा जित हात पारेर नेपाली काँग्रेस जिल्लाको सबै भन्दा ठूलो दल बनेको छ ।
    नेकपा एमाले जिल्लामा दोस्रो ठूलो दल बनेको छ । नेकपा एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा प्रमुख उपप्रमुख पदमा बिजय हासिल गरेको छ भने उमाकुण्ड गाउँपालिकामा प्रमुख र लिखुतामाकोशी गाउँपालिकामा उपप्रमुखमा बिजय हासिल गरेको छ भने जिल्लामा रहेको ६४ वटा वडा मध्ये नेकपा एमालेले पनि २४ वटा वडामा नै जित हात पारेको छ ।
    त्यसै गरी नेकपा माओवादी केन्द्रले पनि सुनापती गाउँपालिकामा प्रमुख उपप्रमुख र दोरम्बा शैलुङ गाउँपालिकामा प्रमुखमा जित हात पारेको छ । जिल्लामा रहेको ६४ वडा मध्ये नेकपा माओवादी केन्द्रले १५ वटा वडामा जित हात पारेको छ । नेकपा एकीकृत समाजबादीले भने १ वटा वडामा मात्र जित हात पारेको छ ।
    २०७४ को निर्वाचनमा भने नेपाली काँग्रेस तेस्रो भएको नेपाली काँग्रेस पाँच वर्ष पछि अर्थात् २०७९ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो पार्टी बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एक नगरपालिकाको प्रमुख, उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको थियो भने १३ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।
    २०७४ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो भएको नेकपा एमाले २०७९ को निर्वाचनमा दुई पालिका गुमाउँदै दोस्रो भएको छ । २०७४ को निर्वाचनमा एमालेले २८ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।
    स्थानीय तह निर्वाचन २०७४ मा रामेछाप जिल्लामा दोस्रो भएको नेकपा माओवादी केन्द्र यो पटक तेस्रो भएको छ । ६४ वडा मध्ये माओवादी केन्द्रले २०७९ को निर्वाचनमा १५ ओटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १६ महिला सदस्य, १५ दलित सदस्य र २९ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा माओवादीले २१ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।
    नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्व जोगाएको छ । केही समय अघि मात्रै बनेको नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला भर एउटा वडामा भएपनि आफ्नो अस्तित्व जोगाउँन सफल भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा वडाध्यक्ष पदमा निर्वाचत भएसँगै जिल्लामा समाजवादीले आफ्नो अस्तित्व जोगएको हो । समाजवादीले अन्य विभिन्न ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि पालिकाको प्रमुख र उपप्रमुख कुनै ठाउँमा जित्न सकेन ।
    अघिल्लो निर्वाचनमा एक वडामा वडाध्यक्ष जितको राप्रपाले यो पटक कुनै पनि वडामा जित्न सकेन । २०७४ को निर्वाचनमा मन्थली नगरपालिका वडा नं १३ फुलासीमा वडाध्यक्ष जितेको राप्रपाले यो पटक कुनै पनि वडामा आफ्नो प्रतिनिधित्वत कायम राख्न सकेन ।

    SuchanaPana.com

    रामेछाप नगरपालिका
    नेपाली काँग्रेसले रामेछाप नगरपालिकामा प्रमुख उपप्रमुखसहित ९ वटा वडा मध्ये ७ वटा वडामा जित हात पारेको छ । रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार लवश्री न्यौपाने, नगर प्रमुखमा र बालाकुमारी कार्की, नगर उपप्रमुखमा विजय भएका छन् । प्रमुख उपप्रमुखसँगै ७ वटा वडामा जित हात पारेको छ । यस नगरपालिकामा नेकपा एमालेले कुनै पनि वडामासमेत जित हात पार्न सकेन भने नेकपा माओवादी केन्द्रले २ वटा वडा अध्यक्षमा जित हात पारेको छ ।
    रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्षसहित काँग्रेसले विजय हासिल गरेको छ । मेयरमा काँग्रेसका लबश्री न्यौपानेले एमालेका रोशन पाख्रिनलाई पराजित गर्दै नेपाली काँग्रेसका निवर्तमान सभापतिसमेत रहेका न्यौपाने विजय भएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । एमालेका पाख्रिनले ५ हजार ९ सय ८६ मत पाएका थिए । पाख्रिन अघिल्लो पटक पनि काँग्रेसका नरबहादुर थापामगरसँग एमालेका नेता पाख्रिन नगर प्रमुखमा पराजित भएका थिए ।
    त्यसैगरी उपप्रमुखमा काँग्रेसकै बालकुमारी कार्की निर्वाचित भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् ।
    काँग्रेसले नगरका ९ मध्ये ६ वटा वडामा प्यानलै र १ वडामा वडा अध्यक्षसहित बहुमत सदस्य निर्वाचित गराउन सफल रहेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवारको वडा मात्र नभै एमालेको किल्ला भनेर चिनिएको वडा नम्बर ६ ओख्रेनीमा समेत काँग्रेसले यो पटक प्यानलै जित हात पारेको छ । त्यसैगरी वडा नम्बर १ गोठगाउँ र साँघुटारसमेत काँग्रेसले जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा प्यानलै विजय गरेको छ । यसअघि माओवादी केन्द्रले जितेको रामपुरमा यो पटक काँग्रेसले अत्याधिक मत ल्याएर प्यानलै जितेको छ ।
    रामेछाप नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखबहादुर कार्की वडा अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार निरकुमार श्रेष्ठ, वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार दलबहादुर प्रधान, वडा नम्बर ४ मा नेपाली काँग्रेसकै कृपा थापामगर वडा नम्बर ५ मा नेपाली कांग्रेसकै हरिशचन्द्र श्रेष्ठ, वडा नम्बर ६ मा नेपाली काँग्रेसकै राजेश तामाङ, वडा ७ मा नेपाली काँग्रेसकै समिर कार्की र वडा नमबर ८ मा पनि नेपाली काँग्रेसकै सन्तोष तामाङ बिजय भएका छन् भने वडा नम्बर ९ मा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर श्रेष्ठ बिजय भएका छन् ।


    मन्थली नगरपालिका
    मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ नेपाली काँग्रेसका विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगर प्रमुख पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । कार्की यस अघिल्लो निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । नगर प्रमुख पदमा निर्वाचित श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुन् । विद्यार्थी संगठनदेखि राजनीतिमा सक्रिय श्रेष्ठले राजनीतिसँगै सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।
    उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरेकी थिइन् । बस्नेत शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् । पराजित भएकी श्रेष्ठ भने यसअघि मन्थली नगरपालिकाको कार्यपालिका सदस्य थिइन् ।
    जिल्ला सदरमुकाम रहेको मन्थलीमा एमालेले प्रमुख उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । काँग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् । मन्थली नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको थियो ।
    मन्थली नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रामहरि पौडेल विजय भएका छन् । त्यसै गरी वडा नं २ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र कार्की, वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल थापा, वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार राजन घिमिरे, वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रविन कार्की (नविन), वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार अशोककुमार तामाङ, वडा नम्बर ७ मा नेपाली काँग्रेसकै उम्मेदवार भुवनहरि प्रसाई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
    वडा नम्बर ८ चिसापानीमा नेकपा एमालेका उम्मेदवार गोपाल श्रेष्ठ, वडा नम्बर ९ मा पनि नेकपा एमालेकै उम्मेदवार गोकर्णराज आराण, वडा अध्यक्षमा निर्वाचित भएका त्यसै गरी वडा नम्बर १० मा नेपाली काँग्रेसका उम्मेदवार गोपिलाल तामाङ, वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगर, वडा नम्बर १२ मा नेपाली काँग्रेसका उम्मेदवार खिलेन्द्र खत्री वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै गरी नेकपा एमालेबाटवडा नम्बर १३ मा नवराज थापामगर र वडा नम्बर १४ बाट पनि नेकपा एमालेबाटै मोतीलाल तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।


    खाँडादेवी गाउँपालिका
    खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको नजिजा सार्वजनिक गर्दै निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको छ ।
    श्रेष्ठले ७ हजार ३ सय ५९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत पाए । त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गरे ।
    अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५४ सालमा साविकको भिरपानी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । एमालेका विभिन्न पदमा रहेर काम गरेका उनले वाग्मती प्रदेश सरकारको योजना आयोगको सदस्य भएर काम गरेका थिए । खाँडादेवीका ९ मध्ये ७ वटा वडा नेतृत्वमा एमाले उम्मेदवार विजयी भएका छन् । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ जितेका छन् । रामेछापका सम्पूर्ण पालिकाको मतगणना कार्य सकिएको छ ।
    गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार केशवकुमार प्रधान, वडा नम्बर ३ मा नेकपा एमालेकै पुष्करकुमार कार्की निर्वाचित भएका छन् । त्यस्तै गरी वडा नम्बर ४ को वडाअध्यक्षमा नेकपा एमालेकै कृष्णप्रसाद पौडेल, वडा नम्बर ५ मा मनोज पौडेल, वडा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ६ मा भने नेपाली काँग्रेका उममेदवार नारायण कार्की, ७ मा नेकपा एमालेका उम्मेदवार सिरे तामाङ, वडा नम्बर ८ मा नेकपा एमालेका उम्मेदवार जंगलाल तामाङ, वडा नम्बर ९ मा पनि नेकपा एमालेकै अकलबहादुर भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।


    दोरम्बा शैलुङ गाउककपालिका
    दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई झिनो मतान्तरले पराजित गरी विजय भएका हुन् । बुधबार राती सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गरेका थिए ।
    उपाध्यक्षमा काँग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाएकी थिइन् । माओवादी केन्द्र र काँग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।
    यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश पदमा आफ्ना उम्मेदवारलाई विजयी गराएको माओवादी केन्द्रले यो पटक २ वटा वडा र उपाध्यक्ष काँग्रेसलाई दिएर निर्वाचनमा होमिएको थियो । गठबन्धन गर्दा पनि एमालेले २ वटा वडामा निर्वाचन जितेको छ । गाउँपालिकामा निर्वाचिन मोक्तान माओवादीको भूमिगत कालदेखिका संघर्षशील व्यक्ति हुन् । उनले पार्टी राजनीति र जनसेना दुवैतर्फ रहेर भूमिगत अवस्थामा काम गरेका थिए । रामेछापको लखनपुर घर भएका मोक्तानले माओवादी रामेछापका जिल्ला ईन्चार्ज, अध्यक्ष, सचिव लगायतका पदमा रहेर काम गरिसकेका छन् ।
    त्यसैगरी काँग्रेसको प्रदेश महाधिवेश प्रतिनिधि रहेकी उपाध्यक्षमा निर्वाचित खमला थापामगर अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । माओवादीले दोरम्बा शैलुङलाई युद्ध भूमिको रुपमा लिन्छ । यसअघि दोरम्बा र सुनापति गाउँपालिकाको अधिकांश पदमा नेतृत्व लिएको माओवादीले यो निर्वाचनमा केही सिट गुमाए पनि मुख्य नेतृत्व भने अरु पार्टीलाई लान दिएन ।
    दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रेम लामा, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेचमान योञ्जन, वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार सन्तलाल थापामगर र वडा ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार श्यामलाल घिसिङ, वडाअध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगालाल तामाङ (कमान), वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार टिका प्रसाद गौतम र वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रविण मोक्तान, वडाअध्यक्षमा निर्वाचित भएका छन् ।


    उमाकुण्ड गाउँपालिका
    उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् ।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि पनि उक्त पालिकाका अध्यक्ष थिए । उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिइन् ।
    सावित्री सुनुवार यसअघि वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको थियो । अध्यक्षमा निर्वाचित सुनुवार उमाकुण्डमा २०५४ सालदेखि नेतृत्वमा छन् । २०५४ सालमा साविक प्रिती गाविसको अध्यक्ष भएर काम गरेका सुनुवार त्यसयता कुनै पनि निर्वाचनमा पराजित भएको अनुभव छैन ।
    गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार ङावातिन्डु शेपा, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खम्बाध्वज वस्नेत, वडा ३ मा नेकपा एमालेका गुणकुमार थापा, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार कुलबहादुर बस्नेत, वडा ६ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज खड्का, वडा वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार रुद्रमणि नेवार, वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    लिखु तामाकोसी गाउँपालिका
    लिखु तामाकोसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका केशव महत विजयी भएका छन् । महतले एमालेका कमलप्रसाद कडरीयालाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी कडरीयाले ४ हजार ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष महत अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षमा पराजित भएका थिए ।
    उपाध्यक्षमा भने एमालेकी दीपा पाख्रिन विजयी भएकी छन् । पाख्रिन ४ हजार १ सय २६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी सरस्वती खड्का गुरुङले ३ हजार ९ सय ३३ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्ष पदमा विजयी पाख्रिन जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख थिइन् । उपप्रमुख पदबाट राजीनामा गरेर गाउँपालिकाको उपाध्यक्ष लडेकी हुन् ।
    ७ वटा वडा रहेको लिखु तामाकोसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा १ वडाध्यक्ष र १ जना वडा सदस्य बाहेक सबै ३५ सिट एमालेले विजयी हासिल गरेको थियो । पहिलेदेखि नै एमालेको वर्चश्व रहेको उक्त पालिकामा काँग्रेसले ३० वर्ष पछि सफलता पाएको हो ।
    गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदिप तामाङ, वडा २ मा पनि नेकपा एमालेकै उम्मेदवार सन्तोष पौडेल निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपालराज तामाङ, वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार दिपककुमार मगर, वडा नम्बर ५ मा नेपाली काँग्रेसकै उम्मेदवार रोमबहादुर तामाङ, वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार शिव प्रसाद न्यौपाने र वडा ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कैलाशकुमार दर्लामी वडाअध्यक्षमा निर्वाचित भएका छन् ।


    गोकुलगंगा गाउँपालिका
    गोकुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । खड्काले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गरेका हुन् ।
    निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजयी हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ४ हजार ७ सय १० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । कार्कीकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकी थिइन् ।
    गोकुलगंगा एमालेको आधार इलाकाको रुपमा रहेको थियो । यसअघिको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी सुनुवार र नेवारलाई एमालेले यो पटक पनि उम्मेदवार बनाएको थियो । हालका विजयी खड्का नेपाल तरुण दल रामेछापका अध्यक्ष हुन् । खड्का राजनीतिक परिवार सदस्य हुन् । उनका बाबु स्व. पूर्णबहादुर खड्का २०४९ सालमा नामाडीको गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए भने दाजु दीपक खड्का कांग्रेसको जिल्ला सचिव हुन् । १३ जना दाजु भाइमध्ये सबैभन्दा कान्छा काजीबहादुर खड्का युवा माझ लोकप्रिय छन् ।
    गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार छत्रबहादुर बस्नेत, वडा नम्बर २ मा पनि नेपाली काँग्रेसकै सुरेन्द्र कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार नरविक्रम कार्की, वडा नम्बर ४ नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र वस्नेत, वडा नमबर ५ मा नेकपा एमालेका उम्मेदवार दीपक कार्की र वडा नम्बर ६ नेपाली काँग्रेसका उम्मेदवार चन्द्रबहादुर सुनुवार, वडा अध्यक्षमा निर्वाचित भएका छन् ।


    सुनापति गाउँपालिका
    सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली काँग्रेसका कमान खड्कालाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेको थियो । उनका प्रतिस्पर्धी काँग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यसअघि वडा नम्बर ५ का वडाध्यक्ष थिए । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाईं विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी ५ हजार ६८ मत प्राप्त गरेकी छिन् । विष्ट यसअघि पनि उपाध्यक्ष थिइन् ।
    २०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेवीमा काँग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका थिए । एमालेले भने १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष उम्मेदवार २ हजार ३१ मतमा सीमित हुन पुगेका छन् ।
    गाउँपालिकाको वडा नम्बर १ बाहेक सबै वडामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार धु्रव चौलागाई वडा अध्यक्षमा निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रले वडा नम्बर २ मा पदम थापामगर, वडा नम्बर ३ मा कुलबहादुर थिङ, वडा नम्बर ४ मा दण्डुप लामा, वडा नम्बर ५ मा चित्रबहादुर मानन्धर, बिजय भएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.