काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरोले ४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । दुई जना विदेशी र एक नेपाली महिला उक्त हेरोइनसहित पक्राउ परेका हुन् ।
ब्युरो स्रोतका अनुसार उक्त हेरोइन विदेशबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौँबाट बरामद गरेको हो ।
यस सम्बन्धमा केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने ब्युरोले जनाएको छ । यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो ।
प्रहरीले जेठ २६ देखि ३१ गतेसम्मको विशेष अपरेसनमा ब्युरोले २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्टलाई पक्राउ गरेको थियो ।
उनीहरु अफ्रिकाबाट दुबई र साउदी अरब हुँदै काठमाडौँ आएका थिए । पछिल्लोपटक पक्राउ परेका व्यक्ति र बरामद हेरोइनको कनेक्सन पहिलेकोसँग हुन सक्ने एका प्रहरी अधिकारीले बताए । यसमाथि अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ ।