काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो असार २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा तीन करोड मूल्यबराबरको तीन लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो ।
आयोजनाले प्रभाव पार्ने बागलुङ जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आउँदो असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले बागलुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन समेत गरिरहेको छ ।
लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गलकोट शाखा, ग्लोबल आईएमई बैंकको गलकोट शाखा, कामना सेवा विकास बैंकको गलकोट शाखा र एनआईबीएल एस क्यापिटल लिमिटेडको काठमाडौँंबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ ।