सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणको दोषीलाई इतिहासकै कठोर सजाय दिइएको छ।
पेरिसका विभिन्न ठाउँमा भएको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो। यो आक्रमणपछि पक्राउ परेका एक मात्र जिवित आरोपीलाई आधुनिक फ्रान्सको इतिहासमा हालसम्मकै कठोर सजाय दिइएको बीबीसीले जनाएको छ।
आक्रमणमा पक्राउ परेका सलाह अब्देसलामलाई आजीवन कैदको सजाय तोकिएको छ। उनले बाँचुन्जेल जेल बस्नुपर्ने छ भने ३० वर्षसम्म जीवनरक्षाका लागि अपिल पनि गर्न नपाउने फैसला अदालतबाट भएको छ।
अदालतले पेरिस आक्रमणमा अन्य १९ जनालाई पनि दोषी पाएको थियो। जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। यो घटनाको सुनुवाई पनि आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समय चलेको थियो। पेरिस आक्रमणलाई दोस्रो विश्व युद्धपछि फ्रान्सको इतिहासमा सबैभन्दा विभत्स घटनाका रुपमा लिइन्छ।
१३ नोभेम्बर २०१५ मा फ्रान्सका बार, रेष्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक संग्राहलयका विभिन्न ठाउँमा आक्रमण भएको थियो। जसमा १ सय ३० जनाको मृत्यु हुँदा कयौँ मानिस घाइते भएका थिए।