काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलनका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले सरकारसँग सहमति भएपछि भने आज मूल्यसूची निर्धारण गरेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ । असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
विलासिता करको विरोधमा व्यवसाय नै बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका थिए । तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।