रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले राजनीतिक आस्था र विचारको आधारमा कसैलाई विभेद नगरेको बताएका छन् ।
नगरपालिकाले आयोजना गरेको चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् । न्यौपानेले आफु नगरप्रमुखमा निर्वाचित भएर आएको दिन देखि कुनै राजनितिक दलको प्रतिनिधि नभई जनप्रतिनिधि भएर समग्र नगरको नागरिकको पक्षमा काम गरेको बताउँदै उनले भने- आज सम्म राजनीतिक आस्था र विचारको आधारमा कसैलाई विभेद गरेको छैन।
निर्वाचनको समयमा कुनै राजनीतिक दलको चिन्ह लिएर नागरिकको मत लिएको भएपनी नगरको सेवा प्रबाहको क्रममा कुनै नागरिकलाई राजनीति पुर्बाग्रह राखेर काम नगरेको बताए । आफू हिजोको दिनमा पनि आज पनि नागरिकको पक्षमा रहेर काम गरेको र अब पनि गर्ने बताए।
रामेछाप नगरपालिकाले प्रत्यक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको छ । जिल्लामा रहेका अन्य पालिकाले भने सार्वजनिक सुनुवाइ कार्यक्रम औपचारिकतामा सिमित राखेको छ ।
