काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए ।
मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।
आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक भारतीय पर्यटक महिला लडेर घाइते भएकी थिइन् । तर उनको अस्पतालमा मृत्यु भएको प्रवक्ता घिमिरे बताए ।
त्यसबाहेक कतिपय कर्मचारी पनि मारिएका छन् । कर्मचारीमध्ये निजामति र फौजी दुबैतिरका छन् ।
