वीरगञ्ज । पर्सा क्षेत्र नम्बर-४ ‘ख’मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिंगासन सा कलवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जसपाका कलवारले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई दुई हजारभन्दा फराकिलो मतान्तरले पछाडि पार्दै पुनः निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको मतपरिणामको नतिजाअनुसार कलवार आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रह्लाद सा कानुलाई दुई हजार ७४४ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
कलवारले १५ हजार ३८५ मत प्राप्त गर्दा कानुले १२ हजार ६४१ मत प्राप्त गरेका छन् । १७६५ मत प्राप्त गरेर पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की शेख चाँद तारा कुमारी तेस्रो भएकी छन् ।
जसपा–एमाले गठबन्धनको तर्फबाट साझा उमेदवार कलवार यसअघि सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए ।
कलवारले यसअघि ११ हजार ७०८ मत ल्याएर नेपाली कांग्रेसका वशिष्ट नारायण कुर्मीलाई पराजित गरेका थिए ।
कलवार निर्वाचित भएसँगै जसपाले मधेस प्रदेशमा आफ्नो पहिलो जित दर्ता गराएको छ ।
