काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १० अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको तुलनामा १७ प्रतिशतले सुधार गरेको हो । गत वर्षको यहि अवधिमा ८ अर्ब ६९ करोड रुपैयाँ थियो ।
मुनाफा भने २० प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा २५ करोड ५६ लाख रुपैया मुनाफा गरेको छ । गत वर्षको यहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तो मुनाफा भने एक्चुरि गरेपछि मात्रै वास्तविक रुपमा थाहा हुन्छ ।
एक वर्षको अवधिमा कम्पनीले जीवन बीमाकोष ९ अर्बले बढाउन सफल भएको छ । गत वर्ष ४० अर्ब २१ करोड रुपैयाँ जीवन बीमा कोष रहेको नेशनल लाइफको यस वर्ष भने ४९ अर्ब ४ करोड रुपैया नाघेको छ । जस मध्ये कम्पनीले दीर्घकालिन लगानी मात्रै ३१ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बीमितले बीमालेख धितोमा राखेर ७ अर्ब ५० करोड रुपैयाँ कर्जा लिएका छन् । अल्पकालिन लगानी भने १४ अर्ब भन्दा माथि छ ।
यस वर्ष अभिकर्ताले मात्रै एक अर्ब १० करोड रुपैयाँ कमिशन लगेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीको अभिकर्ता कमिशन बापत ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो ।
चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा ५२ करोड ९२ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ छ ।